जनकपुरधाम, जेठ १७ गते । कोरोना भाइरस संक्रमणको अति जोखिमको सूचीमा रहेका प्रदेश २ को राजधानी जनकपुरधाम स्थित कोरोना विशेष अस्पतालमै संक्रमण बढने खतरा देखिएको छ ।
प्रदेशमा संक्रमितको संख्या बढदै गएपछि निकै दबाव र आलोचनापछि प्रदेश सरकारले प्रादेशिक अस्पताल अन्तर्गत लेभल २ स्तरको ४२ बेडको कोरोना विशेष अस्पताल निर्माण गरियो ।
तर ती कोरोना अस्पतालमै व्यवस्थापक पक्षको लापरवाहीको कारण संक्रमण बढने खतरा रहेको कुरा सो अस्पतालबाट उपचार पश्चात डिस्चार्ज भएका एक संक्रमितले बताएका छन ।
उनका अनुसार आइसोलेशन निर्माण निर्देशिका बमोजिम आवश्यकता अनुसार शौचालयको व्यवस्था छैन भने सरसफाई समेतको आभाव रहेको छ । त्यति मात्र होइन संक्रमितहरुलाई एउटै लाईनमा उभ्याएर पीसीआर टेस्टका लागि स्वाब संकलन गर्ने गरिएको छ ।
निर्देशिका अनुसार प्रति कोठा एउटा शौचालय बाथरुमको व्यवस्था हुनपर्नेछ । तर त्यस्तै छैन करीब ७ वटा कोठामा निर्माण गरिएको आइसोलेशन रुमका लागि मात्र ३ वटा शौचालय रहेको छ । एउटा गएपछि अर्कोलाई पर्खिनु पर्छ भने त्यसको सेनिटाइज्डको त कुरै छाडै सरसफाई समेत नियमित रुपमा नहुने गरेको उनले आफ्ना भोगाई बारे सुनाउंदै भने ।
निर्देशिकामा आइसोलेशन कोठा निर्माण गर्दा सामान्य वा निगेटिभ रिर्पोट आएका बिरामी, गर्भवती, अपांगता र जेष्ठ नागरिक बिरामी तथा गम्भीर प्रकृतिका बिरामीका लागि छुट्टा छुट्टै व्यवस्था हुनुपर्नेछ । तर सो अस्पतालमा त्यस्तो नभई निगेटिभ रिर्पोट आइसकेका र संक्रमित अर्थात पोजेटिभ दुवै बिरामीलाई एउटै रुममा राख्ने गरिएको छ ।
यति मात्र होइन जेठ ९ गते स्वाब संकलन लिइएका संक्रमितहरुको रिपोर्ट एक हप्ता बितिसक्दा पनि आएको छैन । वैशाख ३१ गते भर्ना भएकाहरुको पहिलो रिपोर्ट निगेटिभ आएपनि संक्रमितहरुकै बीच कोठामा राख्ने गरिएको कारण तिनीहरुमा संक्रमण बढन सक्ने सम्भावना बढी देखिन्छ ।
यस बारे अस्पतालका प्रमुख डा. जामुन सिंहले अस्वीकार गर्दै भने गर्भवती महिलाका लागि २ वटा बेड, निगेटिभ रिपोर्ट आएकालाई राख्न ६ वटा बेड छुट्याइएको छ । जहाँसम्म शौचालयको कुरा छ रुमको बनौट अनुसार सबै कोठामा शौचालय निर्माण गर्न सकिदैन । नयाँ बनेकोले हामी व्यवस्थापनमा जुटेका छौं चाँडै नै समस्या समाधान हुनेछ ।
आइसोलेसनमा आफ्ना भोगाई सुनाएका संक्रमितको भनाई सही हो भने बाहिर भन्दा अस्पताल भित्रै संक्रमणको खतरा देखिएको छ । प्रदेश सरकार अन्तर्गतका सम्बन्धित निकायले अनुगमन गर्न आवश्यकता देखिन्छ ।
लेभल २ स्तरको कोरोना विशेष अस्पतालमा प्रति बेड आक्सीजन, हावा र उज्यालो आउने कोठा, आवश्यकता अनुसार भेन्टीलेटरको व्यवस्था, बिरामी बस्ने रुम आइसोलेट र उपचार सामाग्रीका सम्पूर्ण व्यवस्था हुनुपर्नेछ ।
तर सो अस्पतालमा त्यस्तो देखिएको छैन । हुनत आक्सीजन र भेन्टीलेटर स्टकमा राखिएको र आवश्यकता अनुसार प्रयोग गरिने अस्पताल व्यवस्थापकले दाबी गर्दै आएका छन ।
अस्पतालमा दिइने खाना बारे पौष्टिक नभई गुणस्तरहीन रहेको भन्दै पछिल्लो पटक समाजिक संजालमा निकै आलोचना भएको थियो । अस्पतालमा केही दिनसम्म खानेपानीको आभाव समेत रहेको थियो । तर आलोचना हुन थालेपछि खानेपानीको व्यवस्था गरिएको थियो ।