महोत्तरी ४ जेठ।झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएको छ । शनिबार बेलुकी ८ बजेतिर आएका सय जनाजतिले पोस्ट भत्काएका हुन् ।
नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै थियो’, उनले भने, ‘एक राउन्ड हवाई फायरपछि उनीहरू भागेका थिए ।’
नेपाली भूमिमा मकैखेती गरेका भारतीयले सिमा सिल गरिएपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने रानामगरको भनाइ छ ।
कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवले बताए ।
घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शनिबार राति नै फेसबुकमार्फत भर्त्सना गरेका छन् ।
सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उनले उल्लेख गरेका छन् ।यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । प्रजिअ रानामगरले घटनाबारे आइतवार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफल हुने जनाए ।