इटहरी २० बैशाख । सबैभन्दा बढी कोरोना संक्रमण भएको जिल्ला उदयपुर घर भएकै कारण एक गर्भवतीलाई अप्रेशन थिएटरबाट निष्काशन गर्ने विराटनगरको नोबल मेडिकल कलेजमाथि सरकारले छानविन गर्ने भएको छ । सुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझेर आवश्यक कार्वाही गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुन्छ ।
मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेज भर्ना भएकी उदयपुरकी २९ वर्षिया सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो । नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर रहेको भन्दै डा.देवकोटाले आगामी दिनमा यस्तो खालको गल्ती हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रसुतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरस्वतीलाई अप्रेशन थिएटरमा लगिएकोमा चिकित्सकले विरामीको ठेगाना उदयपुर देखेपछि शल्यक्रिया गराउन मानेका थिएनन् । उनलाई शल्यक्रिया कक्षमा प्रवेश गराएपछि तत्काल बाहिर निकालेर कोशी अस्पतालमा रेफर गरिएको थियो । अप्रेशन गर्ने बेलामा बिरामीको विवरण हेरेपछि रेफर गरिदिएका थियो ।
नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा सफल शल्यक्रिया भइसकेको छ । उनले छोरा जन्माएकी छन् भने दुबै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । नोबेल मेडिकल कलेजले उदयपुरबाट आएको विरामी भएकोले रेफर गरिएको पुर्जीमै लेखेको छ । नोबेलबाट आएको रेफर कागज हेरेपछि कोशीका चिकित्सक नै छक्क परेका थिए ।
नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गर्दै आएका छन् । तर, कोशीका चिकित्सक र उनका श्रीमानले भने उनलाई ज्वरो नआएको बताएका छन् ।