मुसहर दलित भित्रको जातजातिहरु मध्येको सबै भन्दा पिंधमा रहेको जाति हो । रोग, भोग, शोक, बन्धुवा मजदुर सहित जग्गाविहिन, घरबार विहिन, नागरिकता बिहिनको रुपमा आफनो दैनिक गुजारा गर्ने जाति हो । मुसहर जातिको साक्षरता दर करिब सात प्रतिशत मात्र छन् । अर्थात दुखैदुखको दलदलमा फसेको जिवनबाट उठी सरकारी जागिर गर्छौ भन्ने सोच्नु अकाशमा घर बनाउनु जति नै हो । तथापी दृढ संकल्प गरी सरकारी जागिर गर्छौ भन्ने अठोटको साथ अगाडी बढेका राजकुमार सदायको सपना हो यो ।
राजकुमार सदाय सप्तरी जिल्लाको साविक हरिहरपुर ९ हाल सुरुङ्गा नगरपालिको ७ का निवासी हुन् । आमा बुबा, श्रीमती, छोराछोरी सहित ७ जनाको परिवार रहेका छन् । सानै देखी पढनमा रुची भएकोले घरमा विभिन्न समस्या सित लडी दैनिक गुजरा चलाउन ज्यालादारीमा काम गरी आफनो पढाईलाई निरन्तरता दिदै एसएलसी पास गरे । पढाईलाई निरन्तरता दिदै र दैनिक गुजारा गर्न मजदुरी सहित टयुसन र वोर्डिङ्ग स्कुलमा काम गर्दै स्नातक सहित कम्प्युटर ओपरेटरको पढाई पुरा गरे । २०७५ साल असारको महिनामा भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाद्धारा आयोजित सम्मान कार्यक्रममा
अभिनेता, निर्माता तथा चर्चित कालाकार निखिल उप्रतीको हातबाट सम्मान पाए पछि अझ गौरवान्वित महसुस गरी आफनो सपना पुरा गर्न अगाडी बढन थाले ।
जागिरको लागी विभिन्न सघं सँस्था धाए तर अनुभव नभएका कारण कसैले अवसर दिएन् । बोर्डिङ्ग स्कुलमा काम गर्दा पनि पारिश्रमिक दिदैन थियो । दैनिक ज्यालादारीमा पनि कसैले बोलाउदैन थियो । सबैले भन्थे यत्रो पढेर हामी सित के खेत, घर निर्माणमा काम गर्छौ । घरको बुवाआमा वृद्ध भैइसकेको हुनाले घरपरिवार चलाउनुपर्ने अर्को तिर जागिरको लागी भौतारिनुपर्ने, झन त्यसमा लोकसेवा आयोगको फारम भर्न र परिक्षा दिने वेला शहरमा गएर बस्नुपर्ने बाध्यताले गर्दा चर्को ब्याजमा कर्जा पनि उठाएको थियो । सासु ससुरा सिजेन्द्र र राजकुमारी सदाले पनि परिवार चलाउन र लोकसेवाको फर्म भर्नमा धेरै सहयोग गरेको र कहिलेकाही साथी भाई सित पैसा सापट लिई लोकसेवा आयोगको फर्म भरेको कुरा राजकुमार सदाय बताउछन् ।
२०७३ सालमा पहिलो पटक नेपाल विविध सेवा, रा.प.अन. प्रथम श्रेणी लोक सेवा आयोेग धनकुटाको विज्ञापन नं. ०७२/०७३₋ १०२०२ कम्प्युटर अपरेटर पदमा लिखित परिक्षामा सफल भए तापनि मौखिकमा सफल हुन सकेन । तथापि हार मानेन फेरी समस्याहरु सित जुधदै फेरी लोक सेवा आयोग दिक्तेल, खोटाङ्ग बाट कम्प्युटर अपरेटर पदमा लिखित परीक्षामा सफल भए तर पुनः मौखिक परिक्षामा असफल भए । एकातिर दिनरात लोकसेवाको तयारी गर्नुपर्ने भने अर्को तिर परिवारिक जिम्मेवारी, कति दिन त भोकै पनि रात कटेको बताउछन राजकुमार सदाय ।
“पैसा कर्जा लिन जाँदा महाजनले भन्थे सरकारी जागिर खानु मुसहरको बसको चिज हैन, मेरो छोरा छोरीलाई त्यत्रो खर्च गरी पढाएको छु, त्यसले त सरकारी जागिर खान सकेन तिमी मुसहर समुदायले काँहा निकाल्न सक्छौ । आफनो औकाद अनुसार सपना देख्नुपर्यो । पैसा फिर्ता नगरे मेरोमा बन्धुवा भएर काम गर्नुपर्छ भन्ने सर्तमा पैसा दिन्थे ।”
चारै तिरबाट दुखैदुख पाउदा नाम निकाल्न सकिदैन कि जस्तो पनि लागिरहेको थियो । तथापि फेरी लोक सेवा आयोग दिक्तेल, खोटाङ्ग बाट कम्प्युटर अपरेटर पदमा लिखित परीक्षामा सफल भए तर बैकल्पिक उम्मेदवारको रुपमै सिमित भए । फेरी लुम्बिनी अञ्चल कार्यलय, वुटवलबाट कम्प्युटर अपरेटर पदमा लिखित परीक्षामा सफल भए तर बैकल्पिक उम्मेदवारको रुपमै सिमित भए । यसरी चार चार पटक लोकसेवा आयोगमा नाम निकाल्न सफल भए पनि बैकल्पिक उम्मेदवारकै रुपमा सिमित भएकोले पुर्व जन्मको पापको कारणले गर्दा पनि नभएको भन्न थाले । मानसिक रुपमा तनावै तनाव थियो । मनमा अनेक किसिमको नाकारात्मक कुराहरु आएर के गरु के गरु जस्तो पनि हुन थियो ।
तथापि धैर्य र साहस जुटाई पुनः स्थानिय तहको लागी लोक सेवा आयोग जलेश्वर कार्यलयले नेपाल विविध सेवा सहायक पाँचौ विज्ञापन नं. ११४२१/०७५₋०७६ खुल्ला कम्प्युटर अपरेटर पदमा सफल भई बारा जिल्लाको आर्दश कोटवाल गाउँपालिकामा स्थायी रुपमा नियुत भएकोछु ।
नेपालमै मुसहर जातिबाट प्रथम स्थायी कम्प्युटर अपरेटरको रुपमा आफु भएकोले गौरवान्वित महसुस गर्दैछु र घरमा धेरै दिन पछी खुशियाली आएको महसुस गर्दैछु भनी जानकारी दिए राजकुमार सदायले ।
सबै दलित, विपन्न र जटिल अवस्थामा रहेका वर्गले शिक्षालाई आफनो औजार बनाउनु पर्ने, निरन्तर मेहनत गरी अगाडी बढिदै गयो भने अवश्य नै आफुले सोचेको गन्तब्यमा पुग्न सकिन्छ ।
अनुसन्धान तथा लेखनः पचुलाल माझी मुसहर, दलित अधिकारकर्मी