नेताहरू अशोक राई र राजेन्द्र श्रेष्ठसहित अध्यक्ष भट्टराईले बुधबार नेतृ यादवको निवासमै पुगेर छलफल गरेका थिए । ‘उहाँहरू आउनुभएको थियो, पार्टी विभाजनसम्बन्धी बाहिर चलिरहेको हल्लाबारे जिज्ञासा राख्नुभयो’, नेतृ यादवले नयाँ पत्रिकासँग भनिन् । तर, तपाईंहरूबीच सहमति भयो त भन्ने प्रश्नमा उनी बोल्न चाहिनन् ।
अध्यक्ष भट्टराईले पार्टी विभाजनको हल्ला चिर्न नेतृ यादवलाई विज्ञप्ति निकाल्न आग्रह गरेका थिए । तर, उनले मानिनन् । बरु, पार्टीभित्र आफूलाई अपमानित गरिएको भन्दै गुनासो गरिन् । अध्यक्ष उपेन्द्र यादवले नै आफूलाई पार्टीको प्रदेश निर्वाचनमा हराएको आरोप पनि उनले लगाएकी थिइन् । तर, अध्यक्ष भट्टराईले भने विगतको गल्ती बिर्संदै भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिने वचन दिएका थिए । केही महिनाअघि प्रदेश २ मा भएको पार्टी अधिवेशनमा अध्यक्षमा उठेकी रेणु प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादवसँग पराजित भएकी थिइन् ।
नेतृ यादव गत दुई वर्षदेखि अध्यक्ष यादवसँग असन्तुष्ट छिन् । पार्टी सरकारमा जाँदा उनलाई सहभागी नगराए पनि उनको सिफारिसमा राज्यमन्त्री बनाउने वचन अध्यक्ष यादवले दिएको उनले आफू निकटस्थलाई बताउँदै आएकी छिन् । पर्सा–१ बाट निर्वाचित सांसद प्रदीप यादवलाई स्वास्थ्य राज्यमन्त्री बनाउन रेणुले प्रस्ताव गरेकी थिइन् । तर, अध्यक्ष यादवले महोत्तरी–४ बाट निर्वाचित सांसद डा। सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाए । गत मंसिर पहिलो साता प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा डा. यादवलाई राज्यमन्त्रीबाट हटाएका थिए । स्वास्थ्यमन्त्री रहेका अध्यक्ष यादवलाई पनि जानकारी नै नदिएर कानुन मन्त्रालयमा सारिएको थियो ।
रेणुलाई साथ दिइरहेका पूर्वमन्त्री तथा नेता मोहम्मद इस्तियाक राईसहित काठमाडौंमा उपलब्ध अन्य सांसदहरूसँग पनि अध्यक्षद्वय भट्टराई र यादवले छलफल गरेका छन् । स्रोतका अनुसार उनीहरूले विगतको गल्ती भविष्यमा नदोहो¥याउने प्रतिबद्धता गर्दै राजपासँगको एकीकरणपश्चात् सबैलाई समान ढंगले लैजाने वचन दिएका थिए ।
अध्यक्षद्वयसँगको छलफलपछि सांसद रुही नाज र कलुदेवी विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफू पार्टी फुटाउन लागेको हल्ला निराधार रहेको स्पष्टीकरण दिएका छिन् । पार्टी विभाजन गर्ने अभियानमा नाम जोडिएका सप्तरीका सांसद डा। सूर्यनारायण यादवले पनि आफू फुटको पक्षमा नरहेको नयाँ पत्रिकालाई बताए । केही महिनाअघि उनले सांसदबाट राजीनामा दिएका थिए, पछि फिर्ता लिए ।
पूर्वराज्यमन्त्री डा। सुरेन्द्र यादव पनि नेतृत्वसँग असन्तुष्ट थिए । पार्टी विभाजनकै लागि बुधबार साँझ उनलाई प्रहरीले जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ । पार्टीको संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईका सचिवालय प्रमुख विश्वदीप पाण्डेले बुधबार साँझ फेसबुकमा आफ्नो पार्टीका सांसद तथा नेता डा.यादवलाई प्रहरीले अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । यद्यपि, डा.यादवको परिवार भने त्यसबारे मौन छ । ‘दिउँसोसम्म उहाँ महोत्तरीस्थित आफ्नो घरमै हुनुहुन्थ्यो, साँझको खबरबारे मलाई थाहा भएन’, राज्यमन्त्री हुँदा डा.यादवको सचिवालयसमेत हेरेका र सम्बन्धमा सालासमेत पर्ने सञ्जय यादवले भने ।
नेतृ यादवलाई साथ दिइरहेका केही नेता र सांसद भने काठमाडौं आउन थालेका छन् । भारतीय सीमा क्षेत्रको क्वारेन्टाइन भ्रमण गरेपछि स्थानीय प्रशासनले पर्सामा होम क्वारेन्टाइनमा राखेका सांसद प्रदीप यादव बुधबार काठमाडौं आइपुगेका छन् । दिउँसो वीरगन्जबाट काठमाडौं आएको उनले नयाँ पत्रिकालाई बताए ।
समाजवादी पार्टीका तर्फबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राई, राजेन्द्रप्रसाद श्रेष्ठ, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, रुही नाज, रेनुका गुरुङ, रेनुकुमारी यादव, सरिता गिरी, सुरेन्द्रकुमार यादव, डा.सूर्यनारायण यादव ‘सुरज’ र हरिनारायण रौनियार सांसद छन् । रौनियार भने भ्रष्टाचारको मुद्दापछि निलम्बनमा छन् । नयाँ पत्रिका दैनिकमा नवीन झाले समाचार लेखेका छन ।