जनकपुरधाम ६ बैशाख । जनकपुरधामकाे सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ ।
सिसिटिभी फुटेजमा मुख छोपेका दुईजना महिलाहरू देखिएपछि प्रहरीले ती महिलाको खोजी शुरु गरेको जनाएको छ ।
धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले सिसिटीभी फुटेजहरू झिकाएर शंकाश्पद देखिएका र स्थानीयले दिएको हुलियाको आधारमा महिलाहरूको खोजी शुरु गरेको जानकारी दिए । कुन उददेश्यले महिला थुक लगाएर पैसा फालेका थिए अहिले भन्न नसकिने प्रहरीको भनाई छ ।
शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौककमा सडकका विभिन्न ठाँउमा पैसा फालिएको थियो । दश र १ सय रुपैयाँको नोटहरू फालिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खबर गरेका थिए ।
भारतमा समेत केही दिन अघि यसैगरि सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो । त्यसरी फालिएको पैसामा कोरोना भाइरसको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो ।
जनकपुरधाममा समेत स्थानीयवासीमा सोही शंका छ । अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनीहरू कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयहरूका अनुसार दुईजना महिलाले १० र १०० रुपियाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका थिए । उनीहरूले केही पसलका सटरहरूमा समेत पैसा राखेको दाबी गरिएको छ ।
अन्दाजी ३५ देखि ४० वर्षका दुई जना महिलाले सडकमा पैसा फालेको स्थानीयको भनाई छ ।दैनिक नेपाल