२९ चैत, भजनी । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन् । चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उनकै सिको गर्न थालेका छन् ।
चैतेदशैँ र नयाँ वर्ष लक्षित गरी कुखुरा फार्म सुरु गरेका कुखुरापालक किसानले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन् । ठाकुरले पनि माघ महिनामा ८०० कुखुराका चल्ला फार्ममा हालेको बताउँदै फार्ममा भएका कुखुरा ६० दिनभन्दा बढीको भइसकेको बताए । ४५ दिनभित्र कुखुरा उठाइसक्नुपर्ने भए पनि लकडाउनका कारण हालसम्म ५० कुखुरा बिक्री नभएको उनले बताए ।
“साहुसँग कुखुराका लागि दाना मगाउँदा दाना छैन भन्ने प्रतिक्रिया आउँछ । दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ”, चौधरीले भने, “हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन, मेहेनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो । आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु ।” बजारमा दाना पाउन छोडेपछि चौधरीले पाँच केजी दाना, २० केजी घाँस र ५ केजी चामलको भुस मिलाएर कुखुरालाई दिने गरेको बताए ।
त्यस्तै, सोही ठाउँका मङ्गल चौधरीका एक हजार कुखुरा फार्ममा छन् । लकडाउनका कारण कुखुरा बजारमा नजाँदा २०० भन्दा बढी कुखुरा मरिसकेको मङ्गलले बताए । उनले लघुवित्तबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो रु आठ लाख डुब्ने खतरा आएको छ भने । उनले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको उल्लेख गर्दै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको तर समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको बताए ।
“किस्ता पैसा नतिर्दासम्म समूह उठ्दैन । किस्ता तिर्नलाई पैसा छैन । भएको पैसा कुखुरा फार्ममा खर्च भइसकेको छ”, मङ्गलले भने, “साँझ–बिहान अत्यावश्यक सेवाका लागि खुल्ने पसलजस्तै फ्रेस हाउस पनि खोल्ने भए केही राहत हुन्थ्यो । यस्तै अवस्था रहे रोडमा जानुको विकल्प छैन ।”
कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका–७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ । फार्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फार्ममै रहँदा परिवारलाई साँझ–बिहानको जोहो गर्न समस्या हुँदै आएको उनले बताए । “मसँग ७५० कुखुरा थिए । दुई सय कुखुरा मरे भने एउटा पनि बिक्री गर्न पाएको छैन”, उत्तमले भने, “परिवारको सबै आस भरोसा यही कुखुरा फार्म थियो । अहिले राहत माग्न जाउँ व्यवसाय छ । स्थानीय सरकार दिँदैन । नजाउँ परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसकेको छ ।”
उनले स्थानीय सरकारलाई फ्रेस हाउस दैनिक दुईदेखि चार घण्टासम्म खोल्ने व्यवस्था गरिदिएको भए आफूजस्ता सयौँ कुखुरा व्यवसायीले ठूलो राहत पाउने बताए । हाल टीकापुर नगरपालिकाभित्र पाँचा पोल्ट्री सप्लायर्स छन् । सप्लायर्सले आफैं लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताए । उनले हालको अवस्थामा नगरपालिकाभित्र रु ६० देखि ७० लाख मूल्य बराबरको कुखुरा तयारी अवस्थामा रहेको तर दैनिक रु एक लाख मूल्य बराबरको कुखुरा पनि बजारमा नगएको बताए ।अन्लाईन खबर