काठमाडौं, २९ चैत । नेपाल प्रहरीको जनपद तर्फको प्रहरी नायव महानिरिक्षक (डिआईजी) पदमा बढुवाका लागि १० जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को सिफारिस उपयुक्त भएको टिप्पणी आएको छ ।
संगठनमा रहेका र आफू नपरेका केही अधिकारीको चित्त नबुझे पनि सरकारले निर्धारण गरेको १४ डिआईजी पदका लागि रिक्त १० मा परेका एसएसपीहरुका विषयमा प्रहरीका उच्च अधिकारीले ढिलो तर उपयुक्त सिफारिस आएको टिप्पणी गरेका छन् ।
गृह मन्त्रालयले यो बढुवा र निर्णय भने समय भन्दा ढिलो गरेको बताइएको छ । लगभग बढुवा गर्नुपर्ने समय भन्दा तीन महिना घर्काएर सिफारिस भएको छ ।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) शैलेश थापा क्षत्री हस्ताक्षरित पत्रका अनुसार सिफारिसमा एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रकुमार धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डिआईजीमा बढुवा प्रस्ताव गरिएको छ ।
लोक सेवा आयोगमा कुनै उजुरी नपरेको खण्डमा आगामी सातापछि सिफारिसमा परेका सबैले डिआईजीको फूली लगाउनेछन् ।
बढुवा सिफारिमा परेका प्रहरी अधिकारी सबै अब्बल छन् । समयभन्दा ढिलोगरी बढुवा सिफारिस गरे पनि त्यसभित्र परेका टप १० प्रहरी अधिकारी कार्य सम्पादनमा कागजमा मात्र नभएर फिल्डमा नै अब्बल देखिएका हुन् ।
सरकारले डिआईजी पदको संख्या खुम्च्याउने निर्णय गरेको दुई दिनमा नै समितिले बढुवाका लागि १० जनाको नाम सिफारिस गरेको छ । कतिपयले सिफारिसमा परेका सबै अधिकारी प्रभावकारी काम गरेका र संगठनको गरिमा बलियो बनाउने नाममा अगाडि रहेको बताएका छन् ।
‘संगठनमा काम गर्ने सबैको कार्य क्षमता बलियो छ । तर सतहमा देखिएका कतिपय ठूला अपराध अनुसन्धान र त्यसलाई टुंगोमा पुराएर संगठनको इज्जत धान्नेको सिफारिस भएको छ’, प्रहरी स्रोतले भन्यो, ‘अब पाउने जिम्मृेवारीमा पनि सिफारिस भएका सबैले प्रभावकारी काम गर्नेछन् भन्ने कुरामा कुनै द्विविधा हुने छैन ।’
बढुवा समितिले कसैले नाक खुम्च्याउनुपर्ने वा संगठनमा मनोपोली हिसाबले काम गर्न पाइन्छ भन्ने गलत व्याख्या हुनेगरी सिफारिस भएको छैन, यो सिफारिस र सल्लाहमा प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले विवेक पुर्याएको बताइन्छ ।
‘बढुवाका लागि नाम नअट्ने अन्य अधिकारी पनि अब्बल रहेका कारणले आईजी ज्ञवालीले संख्या अलिक बढाएको भए हुने भन्ने मत राख्नु स्वभाविक हुन्छ । कसैलाई असमानता नदेखियोस् भन्ने चाहना पुरा नभए पनि सिफारिस भएका उत्कृष्ट भित्रका पनि उत्कृष्ट हुन् भन्ने विषयलाई बुझ्नुपर्छ’, प्रहरी उच्च स्रोतले भन्यो, ‘यो अन्य बेलामा भएका बढुवा जस्तो असमान सिफारिस होइन । स्वभाविक मान्नुपर्छ ।’
बढुवा सिफारिसमा एआईजी भइसकेका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, डिआईजीहरु निरज शाही र प्रद्युम्न कार्कीृका पनि ब्याची रहेका छन् । उनीहरुपछि बढुवा सिफारिसमा परेका ब्याचका उत्कृष्ट १० मा नै रहेका थिए ।
‘कार्य सम्पादन मुल्यांकन, क्षमता र बरियता मिचेर काम भएको छैन, यो संगठनका लागि राम्रो सन्देश पनि हो’, प्रहरी स्रोत भन्छ, ‘बढुवाका क्रममा सँधै विवादमा पर्ने संगठनभित्र अहिले भएको सिफारिसलाई विवादीत भन्न सकिँदैन ।’
कार्य सम्पादन रिपोर्टमा कडा स्पर्धा
कोही भन्दा कोही कम नरहेका सिफारिसमा परेका प्रहरी अधिकारीको कार्य सम्पादन मुल्यांकन रिपोर्टमा निक्कै स्पर्धा देखिएको छ ।
सिंह, लामा, धानुक सुवेदी र बीसीको रिपोर्टमा निक्कै स्पर्धा देखिएको छ । उनीहरुको रिपोर्टको फरक भने दशमलव पछिको अंकमा नै अडिएको छ । दैनिक नेपाल