जनकपुर — मुलुकमा लकडाउन जारी रहे पनि खेतमा तयारी अवस्थामा रहेको बाली थन्क्याउन किसानलाई भ्याइनभ्याई भएको छ। तराई मधेसमा धानपछि सर्वाधिक क्षेत्रफलमा खेती गरिने गहुँ चैत दोस्रो सातादेखि थन्काउन सुरु हुन्छ। यसका साथै रहर, चना, मसुरो, तोरी, सरिसव, आलस, तिललगायतका दलहन तथा तेलहन बाली थन्क्याउने मौसम पनि यही हो।
तर लकडाउनका कारण बाली थन्क्याउन कठिन भएको छ। हरिया सागपात तथा तरकारी बाजारसम्म पुग्न सकिरहेका छैनन्।
‘बन्दाकोभी, सागपात, काँक्रो लगायतका तरकारी गाउँमा फालाफाल छ। सहरमा भने पाउन गाह्रो छ,’ हंसपुर नगरपालिका २ बघचौडाका विदेही कापरले भने। उनका अनुसार गाउँमा काँक्रो प्रतिकिलो १० रुपैयाँमा पाइन्छ। जबकि जनकपुरमा ३० रुपैयाँ किलो पाउन पनि मुस्किल छ ।
लकडाउनका कारण कृषि मजदुर एक स्थानबाट अर्को स्थान जान सकिरहेका छैनन्। गाउँमै उपलब्ध मजदुर पनि सामूहिक रुपमा काम गर्ने अवस्था छैन। गहुँ काट्न तथा दाइँ गर्न प्रयोग हुने ट्रयाक्टर र थ्रेसर लगायतका कृषि औजारसमेत एक स्थानबाट अर्को स्थानसम्म लान समस्या छ।
सबैला नगरपालिकाका प्रमुख विजयशंकर साह किसानहरुलाई खेतमा काम गर्न रोक नलगाइएको बताउँछन्। ‘खेतमा काम गर्न छुट छ तर सामाजिक दुरी बनाई राख्न आग्रह गरेका छौं,’ टेलिफोनमा उनले भने।
खेतमा रहेको बाली छिटो छिटो थन्क्याउन सुरक्षाकर्मीहरुले दबाब दिएको गुनासो किसानहरुको छ।
यसैबीच, दाइँ गर्न काटेर खेतमै राखिएको डेढ बिघा क्षेत्रफलको गहुँमा अज्ञात समूहले आगो लगाएपछि किसानहरु भयभीत बनेका छन्। सबैला नगरपालिका १ मुसहरी टोलका सत्यनारायण यादवको गहुँमा अज्ञात समूहले बुधबार राति आगजनी गरेको हो। इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए। कान्तिपुर