डोटीका सायल र बडीकेदार गाउँपालिकाले विज्ञप्ति जारी गर्दै विशु पर्व घरभित्रै मनाउन अनुरोध गरेका हुन् । विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धुमधामसाथ मनाइने यो पर्व कोरोना भाइरस (कोभिड–१९) का कारण घरभित्रै मात्र मनाउन स्थानीय सरकारहरूले अनुरोध गरेका हुन् ।
शुक्रबार सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ ‘नजिकै आइरहेको विशु पर्व (नयाँ वर्ष २०७७) मा मेला र भेला नगरी घरभित्रै बसेर मनाउनु हुन सबैलाई अनुरोध गरिन्छ । विज्ञप्तिमा अनावश्यक भिडभाड नगर्न र सामाजिक दुरी कायमै राख्न पनि अनुरोध गरिएको छ ।
गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ‘विशु पर्वको बेलामा लकडाउनको पूर्ण रुपमा पालनागरी घरमै बसिदिनुहोला ।’
यस्तै, बडीकेदार गाउँपालिकाले पनि विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरूलाई विशु पर्वमा धेरै तडकभडक नगर्न अनुरोध गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस वर्षको विशु पर्व आ-आफ्नै घरभित्र सुरक्षित रही मनाउन हुन अनुरोध गरिन्छ ।’
विज्ञप्तिमा विशु पर्व मनाउँदा मानिसहरूको भिडभाड बढी हुने र भिडभाडमा को–कहाँबाट आएको हो भन्ने पनि जानकारी नहुने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने समेत उल्लेख गरिएको छ । गाउँपालिकाले पाँचवटै वडा कार्यालयहरूलाई समेत भिडभाड हुन नदिने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।
कसरी मनाइन्छ विशु पर्व ?
विशु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ । विशु पर्व मनाउने तयारी भने चैत्र सुरुबाटै हुने गर्छ ।
विशु पर्वको अवसर घरहरू रातो माटो र कमेरो माटो पोतेर चिटिक्क पारिन्छन् । सिमेण्ट लगाएका घरहरू माचुना र पेण्टको प्रयोग गरिन्छ । आफन्तहरूलाई विशु पर्व मनाउन आउन निम्ता दिइन्छ । वर्षको अन्तिमदिन राति सेलपुरी लगायत अन्य मिष्ठान्न परिकारहरू बनाएर खाने चलन छ ।
देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । वर्षको विशुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने विश्वास गरिएको छ ।
देवर नहुने र नन्दन हुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विशु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् । कामको सिलसिलामा बाहिर रहेकाहरू विशु मनाउन घर आउने भएकाले यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ ।अन्लाईन खबर