२० चैत, जनकपुरधाम । आज रामनवमी । धनुषाको जनकपुरधाममा हिन्दू धर्मावलम्बी नेपाली र भारतीयको ठूलो घुइँचो लाग्ने दिन हो ।
हिन्दु धर्मवलम्बीले भगवान रामको जन्म दिनको रुपमा आजको दिनलाई धुमधामले मनाउँछन् । रामको जन्म दिनमा खचाखच भरिने जनकपुरधाम बिहीबार भने सुनसान छ ।
जनकपुरधाम रामकी पत्नी सीताको माइतीघर मानिन्छ । यहाँ रहेको जानकी मन्दिरको मूल गेटमै ताला लगाइएको छ । पूजारीले सामान्य पूजापाठ मात्र गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधाममा रामनवमी समेत प्रभावित भएको छ ।
रामनवमी मनाउनु एक साताअघिदेखि नै जनकपुरमा व्यापक भिड र दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । तर यस पटक त्यस्तो अवस्था नभएको जानकी मन्दिरका महन्थ रामरोशन दासले बताए ।
रामनवमीको अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, विवाह मण्डपलगायतका ठाउँमा श्रद्धालुहरूको विशेष घुइँचो लाग्ने गर्दथ्यो ।
यस अवसरमा गंगासागर, धनुषसागर, अंगराजसरसहितका पोखरीमा स्नान गरेर भजन, किर्तनसहित भक्तिभाव तथा पूजा पाठ गर्ने गरिन्थ्यो ।
त्रेतायुगमा राम नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको स्मरणमा रामनवमी भव्यतापूर्वक मनाउने गरिन्छ । यस दिन भारतका श्रद्वालु एवं साधु सन्तसमेत आउने गर्दथे ।अन्लाईन खबर