नेपाल पोस्ट दैनिक सम्बादाता सिरहा १६ चैत/मानव जातिको लागि विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात (कोभिड-१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लगाएको लकडाउनले गर्दा सिरहाको लहान बजारमा तरकारीको भाउ आकासिएको बेला एक मनकारी किसानले निशुल्क भन्टा वितरण गरेको छ ।
सिरहाको लहान-२४ गोविन्दपुरका उखु तथा तरकारी किसान राम प्रकाश महतोले लहानको वडा नं १, ६ र ७ मा गरि करिब १६ क्विन्टल भन्टा तरकारी निःशुल्क वितरण गरेको छ। विशेष गरि गरीब, विपन्न तथा घरभडामा बसेका मानिसहरु लक्षित गरि तरकारी वितरण गरेका छन्।आफ्नै खेतमा उब्जाएको करिब १६ क्विन्टल भन्टा किसान महतोले वितरण गर्दै भने-लकडाउनको प्रत्यक्ष असर गरिब, विपन्न मजदुरमा पर्न गएको छ । जसका कारण तिनीहरूको परिवारलाई हात मुख जोड्ने नै मुख्य समस्या छ, त्यसमा एक्कासि हरियो तरकारीको भाउ आकासिएको छ। आफ्नो सानो सहयोगले सबैलाई नभए पनि केही परिवारलाई सहयोग गर्न पाएकोमा एकदम खुसी छु ।गाउँकै युवा श्याम सुन्दर महतोले -भने म सुतिरहेकै बेला एका विहानै राम प्रकाश महतोले मसंग भन्टा वितरण गर्न सल्लाह र सहयोग मागे । यस्तो राम्रो कार्य गर्न लागेकोले आफुले मात्रै नसक्ने भए पछि मैले गाउँकै युवाहरू धनराज साह, फुल्गेन कुमार महतो, दिपक राय, लभ चौधरी, मंगला पासमान र गाउँकै सानो भाईहरुको सहयोगमा करिब दुई तीन घन्टा लगाएर खेतमा भन्टा टिपेर किसान महतोकै ट्रयाक्टरमा एक ट्रोली भरेपछी हामीले ईलाका प्रहरी कार्यालय लहानको समन्वय र स्थानीयको सहयोगमा किसान महतोले भिर नलगाई एक- एक जना आउन आग्रह गर्दै भन्टा वितरण गरेका थिए।पुर्वान्चलमै खेतिमा प्रथम स्थान हासिल गरेको भन्दै नेपाल सरकारले महतोलाई बाराको परवानीपुरमा नगद रु. एक लाख पच्चीस हजार सहित प्रमाण पत्र प्रदान गरेका थिए । किसान महतोले करारमा २० बिघा जग्गामा उखु लगाएको छ । गत वर्ष ४२ लाखको उखु बेचेका छन् । जस मध्ये २० लाख फाइदा आफुलाइ भएको बताए । त्यस्तै अरु नगदे वालीबाट वार्षिक १० देखि १२ लाख आमदानी हुने गरेको बताए ।