सुनसरी ८ चैत । सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा कार्यरत तुलासा बस्नेत सधै झैं शनिबार पनि बिहानै ४ बजे नै उठिन्। उठ्ने बित्तिकै भात पकाइन्। ‘हटकेस’मा खाना राखिन्, भाँडा माझिन् र आफूलाई टिफिनमा भात हालेर ६ बजे काममा गइन्। २ जना छोराहरू ओच्छ्यान मै थिए। जाने बेलामा उनले छोराहरूलाई भनिन् ‘उठेर भात खानु।’
काममा जानु अगाडि उनलाई जाउँ कि नजाउँ भयो। सोचिन् काममा नगए के खाने? सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी जम्मा नहुन आव्हान गरेको छ। तर, उनी काम गर्ने उद्योगमा त चार हजार भन्दा बढीको संख्यामा मजदुरहरू एकसाथ काम गर्छन्। सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर्स लिमिटेडमा काम गर्ने तुलासालाई ‘कोरोनाको डर भन्दा खान नपाई मरिन्छ कि भन्ने डर’ बढी छ।
उनी भन्छिन्, ‘खानै नपाई मर्नु भन्दा कोरोना लागेरै मर्नु बेस।’ उनका आम्दानीको अरु कुनै स्रोत छैन। उद्योगले काम गरेको दिन ५ सय १७ रुपैयाँ ज्याला दिन्छ नगरेको दिन दिँदैन। यही ज्यालाबाट २ छोराको पठनपाठन र घर चलाउने आर्थिक जोहो गर्ने बस्नेत कोरोनाको संक्रमण होला भनेर घर मै बसिरहन सकिनन्। उनले कोरोनाको डर भएपनि काममा आएको बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेको भोलिपल्ट अर्थात शनिबार पनि अरिहन्तमा ४ हजार श्रमिक नियमित काममा आएका छन्। उक्त उद्योगमा नेपालबाट मात्रै होइन भारतको अररिया, जोगबानीलगायतका क्षेत्रबाट पनि मजदुरहरू काममा आए। भारतीय मजदुरहरूलाई लिन उद्योगको बस नेपाल-भारत सीमा क्षेत्र जोगबनीसम्म जाने गर्दछ। नेपाल-भारत सीमा क्षेत्र बन्द गर्नुपर्ने सर्वत्र माग भइरहेको बेला शनिबार अरिहन्तको बसले निर्वाध श्रमिक लिएर आएको छ।
उद्योगले केही दिनदेखि उद्योग परिसरमा कामदारका लागि हात धुनका लागि साबुन-पानीको व्यवस्था गरिदिएको छ। तर, श्रमिकहरूले मास्क लगाएका छैनन्। अरिहन्तकै मेकानिकल विभागमा काम गर्ने ईश्वरी बुढाथोकीले काममा नआएको दिन उद्योगले पैसा नदिने भएकाले काममा आएको बताए।
४ हजार श्रमिक काम गर्ने सुनसरीको इटहरीस्थित रिलायन्स स्पिनिङ मिलमा पनि अन्य समयमा झैँ श्रमिक काम गरिरहेका छन्। सो उद्योगमा नेपालका सुनसरी र मोरङका विभिन्न क्षेत्रबाट मात्रै नभएर भारतबाट समेत दिनहुँ काम गर्न श्रमिक आउँछन्।नेपाल न्यूजबाट