काठमाडौं २ चैत । प्रदेशका मुख्यमन्त्रीहरुले कोरोना भाइरस प्रकोपको तयारीका लागि प्रदेशमा प्रयोगशाला बनाउनुपर्ने माग राखेका छन्।
कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुबीच प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीहरुले सो माग राखेका हुन्। बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूहरुले ल्याबको माग राखेको जानकारी दिए।
उनले भने, ‘परिक्षणका लागि हामीसँग टेकुमा एउटा मात्र ल्याब छ। यसको संक्रमण फैलियो भने त एउटाले सम्भव हुँदैन। सातै प्रदेशमा ल्याब चाहिन्छ।’
प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि आफ्ना प्रदेशमा गरिएका पूर्वतयारीका बारेमा ब्रिफिङ गरेका थिए। जनशक्ति, आवश्यक सामाग्री, ल्याब लगायतको विषयमा पनि छलफल भएको शाहीले जानकारी दिए। मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाइदिन आग्रह गरेका थिए।पहिलो पोष्टबाट