तेह्रथुम २ चैत/तेह्रथुमको आठराई–४, ईवा तीन सल्लेमा बिहीबार विन्दा पुरीको हत्या आफ्नै दुईजना देवरबाट भएको खुलासा भएको छ । २८ वर्षिया भाउजुको हत्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए ।
झापाबाट बुधबार राती गाडी रिजर्भ गरी भाउजु विन्दाको घरमा आएर हत्या गरी विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको प्रहरीले बताएको छ । वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् ।
विन्दाको विभत्स हत्याले ईवा तीनसल्ले गाउँनै स्तब्ध भएको छ । बालकृष्ण पुरी तेह्रथुमको फेदाप स्थित औसींडाडा बजारमा र सुरेन्द्र पुरी झापाको बुधबारेमा बस्दै आएका थिए । घटना पछि अनुसन्धानको लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । हत्या गरेर मारिएकी बिन्दाको घरमा जेठा छोरा १० वर्षका र कान्छा छोरा १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स हत्या भएको थियो ।