काठमाडौं ३० फाल्गुन ।हतियारसहित नेपाल प्रवेश गरेको भारतीय समूहका तीन सदस्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सुनसरीको सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भारत घर भएका अजयकुमार मण्डल, आन्नदकुमार मण्डल र राकेशकुमार साह रहेका छन्। प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुकाे साथमा उक्त पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ।
साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। हतियारसहित नेपाल प्रवेश गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लाइभ नेपालबाट