अनिल चौधरी लहान २४ फाल्गुन । धेरै वर्षदेखि अपांगताको जीवन बाँच्दै आएका सप्तरी खड्क नगरपालिका ३ गरुराहाका ६५ वर्षीय मीठु मोचीले हुईलचेयर पाएपछि खुशीको आँशु नै झारे । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजिक अभियन्ता राजेश विद्रोहीले पहलगरी ल्याएका हुईलचेयर मीठु मोचीले पाएपछि पुरै परिवार खुशी छन् । गाउँमा दुईजना अपांग छन् । तर, अहिलेसम्म कतैबाट सरकारी सहयोग पाएको छैन् । गाउँमा पहिलोपटक हुईलचेयर आएपछि पुरैबस्तीका मानिहरु हेर्न भेला भएका थिए ।
वाहिर हिंडडुल गर्न र सौच गर्न समेत नसकेका मीठुमोचीका लागि परिवारको एकजना सदस्य पाँच वर्षदेखि रेखदेखमै हैरान थियो । हुईलचेयरको सहयताले आजदेखि उनी हिडडुल गर्न थालेका छन् । हुईलचेयर पाएपछि अपांग मीठु मोचीले भन्छन्, दाता मेरा भगवान हुन् । दिएको बचन पुरा भयो । खुशी छु । आशिर्वाद लागोस् । हुईलचेयर वितरण गरेका राजेश विद्रोही भन्छन्, धन्यवाद मलाई होइन, नेपाली उधमी तथा मनकारी कृष्ण आचार्य सरलाई दिनुपर्छ ।
मीठु जंगलबाट दाउरा ल्याएर बजारमा बेचेर पारिवारिक जीवन चलाउँथे । पाँच वर्ष अगाडि उनलाई एक्कासि प्रालाईसीसले भेट्यो त्यसपछि हर्नियाँ, हातीपाइले लगायतका रोगहरु थपिदै गए । उपचारकालागि धेरै हस्पिटल धाए । उपचारपछि केही सुधार त भयो । तर, पूर्णउपचार सम्भव भएन । बरु एकपछि अर्को रोग नै थपियो । उनीसँग एकधुर नम्बरी जमिन छैन् । गाउँको सार्वजनिक जग्गामै टहरा बनाएर बसेका छन् ।
केही वर्ष विश्वासकै भरमा कपाली तमसुक बनाएर गाउँघरमा ऋण बटुलेर उपचार गरे । ऋणको चाँग लागेपछि थप पैसा दिन महाजनहरुले मानेनन् । त्यसपछि उनी घरमै थला परे । जंगलबाट दाउरा ल्याएर पारिवारिक जीवन धान्ने मीठु मोची अपांग भएपछि उसको पारिवारिक स्थिति नाजुक भएको छ । बजारमा दाउरा बेचेरै दुई छोरा र दुई छोरी हुर्काए र विहेवारी गरिदिए । तर, उनी अपांग भएपछि परिवारमा दुखको दिन सुरु भएको छ । यतिबेला उसको सेवासुसारमा चौबीसै घण्टा साथ रहेकी कमलीदेवी भन्छिन्, के गर्नु सबै दुख भगवानले हामीलाई मात्र दिन्छन् ।