२० फाल्गुन । कोरोना संक्रमणको प्रभाव रोक्न नेपालबाट भारत जाने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको नेपाल–भारत सीमा (गडडाचौकी) नाकाबाट भारत प्रवेश गर्ने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
नेपालबाट कोरोना भारत भित्रिनसक्ने आशंकामा भारतले कञ्चनपुरको गड्चौकीमा रहेको सीमामा मास्क अनिवार्य गरेको हो । यद्यपि भारतबाट नेपाल आउनेलाई भने मास्क अनिवार्य गरिएको छैन ।
कञ्चनपुरको भीमदत्तनगर, ६ का स्थानीय कैलाश जोशीले भने, ‘‘नेपालबाट भारततर्फ जाने सबैलाई मास्क अनिवार्य गरिएको रहेछ । म मास्क नलगाई गएको थिएँ । मलाई भारतीय सुरक्षाकर्मीले फर्काइदिए । मसँग भएको रुमाललाई मास्कको रुपमा प्रयोग गरेर पछि जान दिइयो ।’’
भारतीय एसएसपीको चेकिङ गर्ने स्थान नजिकै ‘हेल्थ क्याम्प’ पनि राखिएको छ । ‘हेल्थ क्याम्प’मा तापक्रम नाप्ने काम समेत भइरहेको जोशीले बताए । सीमा क्षेत्रमा मास्क बेच्नेहरुको भीड समेत लागेको छ । सीमा क्षेत्रमा दैनिक हजारौं नेपाली तथा भारतीय नागरिक आवातजावत गर्छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले एक साताअघिदेखि मास्क अनिवार्य गरेको भए पनि आजबाट अनिवार्य नभएको जानकारी पाएको बताए । उनले नेपालतर्फको गड्डाचौकी नाकामा भने प्रहरीले मास्क र पञ्जा लगाएर जाँच गर्न थालेको बताए । डीएसपी पौडेलले भने, ‘‘जाँचका क्रममा मानिसको समूहमा जानुपर्छ । हामीले आफ्नै हिसाबले सुरक्षा अपनाउन थालेका हौं ।’’बाह्र खरिबाट