काठमाडौं १६ फाल्गुन । चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।
चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ ।
चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ ।
चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको सीएनएनले उल्लेख गरेको छ ।
चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।
कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ ।
फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् ।
अन्य देशहरुमा प्रकोपको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म एकजना मात्र संक्रमित भएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।
सरकारले हालसम्म कोरोनाको आशंकामा चीनबाट स्वदेश ल्याएर क्वारेन्टाइमा राखिएका १ सय ७५ जना नेपालीसहित २ सय १७ जनामा कोरोनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिसकेको छ । तर हालसम्म एकजनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीन लगायत विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण देखिदै गर्दा नेपालले भने २० लाख पर्यटक भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष’ मनाइरहेको छ ।
सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क पनि राख्यो । तर, त्यो हेल्थ डेस्क पर्यटन वर्ष लक्षित कार्यक्रमका लागि मात्र थियो ।
पर्यटक लक्षित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका थिए ।
चीनमा कारोनाको त्रास फैलिएपछि सरकारले पर्यटन वर्षलाई लक्षित गरेर परिचालन गरेको स्वास्थ्यकर्मी चीनबाट स्वदेश फर्किने नेपाली तथा विदेशी पर्यटकको स्वास्थ्य जाँचमा खटिन थाले ।
चीनबाहेक अन्य देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीलाई चीन सहित ५ वटा देशबाट नेपाल आउनेहरुको कडा स्वास्थ्य निगरानी गर्न केही दिन अघि निर्देशन समेत दिइसकेको छ ।
अहिले त्रिभुवन विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङबाट आउने प्रत्येक व्यक्तिलाई थार्मोमिटरबाट ज्वरो परीक्षण तथा स्वास्थ्य जाँच गरेर मात्र छाड्ने गरिएको विमानस्थल हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले बताए ।
‘अन्य देशमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले विमानस्थलमा चीन, थाइल्याण्ड, जापान, कोरिया र हङकङसहित ५ वटा देशबाट नेपाल आउने सबैलाई इन्डिभिजल स्क्रिनिङ भइरेहको छ,’ पाण्डेले खबरहबसँग भने, ‘यी देशबाट आउने सबैलाई लाइनमा राखेर चेकजाँच गरेर मात्र विमानस्थल बाहिर निस्किन दिएका छौं ।’
हेल्थ डेस्कमा रहेका चिकित्सकले विमानस्थलबाट बाहिर निस्किनेहरुलाई थर्मोमिटरबाट ज्वरो हेर्ने र ज्वरो १ सय ४ डिग्री भन्दा बढि तापक्रम देखिएका बिरामीलाई अस्पताल पठाउने गरेको पाण्डेले बताए ।
विमानस्थलमा स्वास्थ्य परीक्षणको क्रममा कोरोनाको आशंकामा हालसम्म १० जना व्यक्तिलाई विमानस्थलबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको पाण्डेको भनाइ छ ।
‘हामीले हालसम्म विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो देखिएकाले १० जनालाई अस्पतालमा पठाएका छौं,’ पाण्डेले खबरहबसँग भने, ‘अस्पतालमा पठाइएकाहरु कोही विदेशी छन् । कोही नेपाली छन् । हामीले पठाएका व्यक्तिहरुमा कोरोना छैन भन्ने सुनिन्छन् ।’खबरहवबाट