लहान, १४ फागुन । सिराहाको लाहान नगरपालिका १९ छर्रापट्टीबाट अवैद्य सुनसहित दूई जना पक्राउ परेका छन् । उनीहरुबाट १९ तोला ९७ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मंगलवार विहान ८ बजेतीर लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहमद मोतिउल रहमान र सोही स्थानका २१ वर्षीय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर सुमित कुशवाहाको सक्रियतामा पक्राउ परेका उनीहरुबाट प्रहरीले १५ लाख ५७ हजार ७९ रुपैयाँ बराबरको सुन चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाएको अवस्थामा फेला पारेको छ ।
प्रहरीले को ३८ प २६३२ नम्वरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला भन्सार कार्यालय ठाडी, सिरहामा बुझाएको छ ।