जनकपुर ०६ फाल्गुन । प्रदेश २ सरकारले प्रदेशबासी जनताको सुविधाका लागि सरकारी बस सेवा सञ्चालन गर्ने भएको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरदेखि सप्तरीको राजविराज र पर्साको वीरगञ्जसम्म प्रदेश सरकारले बस सेवा सञ्चालन गर्ने प्रक्रिया थालेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गर्न टेन्डर प्रक्रिया पनि शुरू गरेको छ । जनकपुरधाम प्रदेशको अस्थायी राजधानी भएपनि स्थायी राजधानी नै हुने लगभग सुनिश्चित जस्तै रहेको अवस्थामा प्रदेशका अन्य जिल्लाबाट प्रशासनिक काम गर्नका लागि जनकपुर आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।
‘राजधानीमा कामका लागि बिहान आउने सेवाग्राही प्रशासनिक काम गरेर त्यसैदिन गृहजिल्ला फर्किन सकूस् भन्ने उद्देश्यले प्रदेश सरकारको परिवहन सेवा आवश्यक थियो,’ मन्त्री सोनलले भने, ‘जसरी नेपाल सरकारले काठमाडौंमा साझा यातायात सञ्चालन गरेको छ, त्यस्तै मोडेलमा प्रदेश सरकारले पनि आफ्नै परिवहन सेवा सञ्चालन गर्न लागेको हो ।’
प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार नै सेवा सञ्चालनका लागि मन्त्रालय स्तरीय निर्णय गरेर खरिद प्रक्रिया पनि अगाडि बढाइएको छ । मन्त्रालयका शहरी विकास भवन महाशाखाका इन्जिनीयर विनोदकुमार यादवले ५ वटा बस खरिद गर्नका लागि सबै प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।
‘हामीले टेन्डर आह्वान गरेर फर्म समेत छनोट गरिसकेका छौं,’ यादवले भने, ‘अब सम्झौताका लागि आशयपत्र समेत आह्वान गरिसकिएको छ ।’ आगामी १ साताभित्र खरिद सम्झौता भइसक्ने उनले बताए ।लोकान्तरबाट