सप्तरी ३ फागुन, । सप्तरीको बोदे बर्साइन नगरपालिकामा मुस्लिम धर्माम्बलीहरुको सभा शनिबारदेखि सुरु भएको छ ।
बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा धार्मिकसभाको आयोजना गरिएको छ । धार्मिकसभामा नेपाल र भारतका मुस्लिमहरु सहभागी छन् । धार्मिकसभामा सहभागिता जनाउनका लागि अहिले पनि मानिसहरु आउने क्रम जारी नै रहेको आयोजकले जनाएको छ । ‘सहभागीहरु आउने क्रम जारी रहेको छ’ आयोजकका इस्लामले भने, ‘हामी शान्तिपूर्ण तरिकाले सभाको आयोजना गरेका छौं ।’
सभास्थलमा महिला र बालबालिकाका प्रवेशलाई निषेध गरिएको छ ।
धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको हो ।
सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बताए ।
पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो ।
मुस्लिम धर्माम्बलीको धार्मिकसभामा औपचारिक रुपमा उद्घाटन र भाषण ठोक्ने काम गरिएको छैन् । सिधैं प्रवचनको कार्यक्रम गरिएको छ ।
धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेब आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।
साद साहेब जमात विश्वका अध्यक्ष समेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता छ ।
सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए । अनलाइन खबरबाट