उपसभापति विजयकुमार गच्छदारलाई सुनियोजित रुपमा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा लगातार ३ पटक गरेको अवरोध मंगलवार खुला गर्यो ।
काठमाडौँ २८ माघ । गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारलगायत १७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गच्छदारसहित पूर्व मन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्व प्रमुख दिप बस्न्यातसँगै हालसम्मकै ठूलो संख्यामाथि ‘एक्सन’ लिएको हो ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पार्टीका नेता विजयकुमार गच्छदारमाथि अख्तियारले पूर्वाग्रही भएर भ्रष्टाचार मुद्दा दायर गरेपनि आफूहरूले विगतमा एमालेले गरेको जस्तो लगातार संसद अवरुद्ध गर्ने कटु अनुभव दोहोर्याउन नचाहेको बताइन् ।
कांग्रेसले यसअघि माघ २३, २४ र २६ गते बसेको संसद बैठक अवरुद्ध गरेको थियो । बैठक अवरुद्ध नगर्ने निर्णय मंगलवार बसेको संसदीय दलको कार्यसमिति बैठकले लिएको हो ।
कांग्रेसकी सांसद डा. डीला संग्रौला पन्तले लोकान्तरसँग कुरा गर्दै कांग्रेसप्रति ‘पूर्वाग्रही’ बनेको अख्तियारले साँधेको राजनीतिक प्रतिशोधको राजनीतिक रूपमा प्रतिवाद गर्ने तर संसद भने खोल्ने निर्णय भएको बताइन् ।
सोमवार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोगपत्र विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको निष्कर्ष निकालेको थियो ।
तर बैठकमा संसद अवरोध गर्दा नकारात्मक सन्देश गएको भन्दै अन्य तरिकाबाट यसको प्रतिवाद गर्नुपर्ने कुरा उठ्यो । ‘केही नेताहरूले अदालतमा गइसकेको विषयलाई लिएर संसद अवरुद्ध गर्नु सही राजनीतिक कदम नभएको कुरा बैठकमा राख्नुभएको थियो,’ लोकान्तरसँग कुरा गर्दै एक केन्द्रीय समिति सदस्यले भने ।
केन्द्रीय समितिको बैठकको शुरूआतमै करीब २ घण्टा बोलेका गच्छदारले आफूमाथि राजनीतिक प्रतिशोधका कारण अख्तियारले मुद्दा हालेको प्रस्ट पार्न खोजेका थिए । उनले कांग्रेस एकताबद्ध हुन नसक्दा कमजोर बनेको र यही कमजोरीको फाइदा उठाएर कम्युनिस्टले आक्रमण गर्न खोजेको तर्क गरे ।
‘मैले छोडेर जाँदा कांग्रेस यस्तो थिएन, सशक्त थियो,’ बैठकमा मलिन अनुहार लिएर बोलेका गच्छदारले भने, ‘कम्युनिस्टहरूले कांग्रेसका नेताहरूलाई छानीछानी मुद्दा लगाएर सिध्याउन खोजेको छ । हामी एकआपसमै भिडेका छौं, त्यही देखेर हामीमाथि प्रहार भएको हो । हामी एकताबद्ध हुनुको विकल्प छैन ।’ गच्छदारले बैठकमा आफूमाथि मुद्दा लाग्न सक्ने पहिल्यै थाहा भएको बताए । लोकान्तरबाट