काठमाडौँ १९ माघ । नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टी र सरकार नेतृत्व प्रश्नै प्रश्नहरुले घेरिएपछि त्यसको जवाफ के दिने भन्ने विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डसहित अन्य सात जना केन्द्रीय सचिवालयका सदस्यहरुको बैठक बस्दैछ।
आइतबार बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा बुधबारदेखि हालसम्म केन्द्रीय सदस्यहरुले एकल र सामूहिक रुपमा आफूहरु लक्षित प्रश्नहरु उठाएपछि त्यसको जवाफ कसरी दिने भन्नेबारे छलफल गर्न ओली, दाहाल र अन्य सचिवालय सदस्यहरु भेला हुन लागेका हुन्।
बैठकको पहिलो दिन २१ जना केन्द्रीय सदस्यहरुले कार्यसूचीमा राख्न दिएका, त्यसपछि बिभाजित १५ वटा समूहले सामूहिक रुपमा निकालेका, पार्टी प्रदेश प्रमुखहरुले आफ्नो प्रस्तुतीका बेला दिएका र निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखहरुले आफ्नो धारणा राख्नेक्रममा उठाएका प्रश्नहरुको जवाफ नेतृत्वले दिने तयारी गरेको बुझिएको छ।
स्रोतका अनुसार सुरुमा बैठकको उद्घाटन मन्तव्य बैठक अध्यक्ष ओलीले दिने र समापन अध्यक्ष दाहालले गर्ने कार्यसूची निर्माण गरिएको थियो।
तर सुरुमै आफूले मात्रै भाषण गरेर बैठकस्थलबाट बाहिरिएका ओली र उनको नेतृत्वको सरकार लक्षित दर्जनौँ प्रश्नहरु उठेको अवस्थामा त्यसको जवाफ नदिँदा भाग्न खोजेको सन्देश जाने देखिएपछि उनले आज समापन कार्यक्रममा संशोधन गर्न लागेका हुन्।
केन्द्रीय सदस्यहरुले पार्टीभित्रै अनियमितता तथा भ्रष्टाचार मौलाएको, विधान उल्लंघन भएको, गुटउपगुटले पार्टी ध्वस्त बन्दै गएको, सरकार र जनता तथा पार्टी नेतृत्व र कार्यकर्ताको दूरी बढेको, सीमा अतिक्रमणमा गम्भीर नबनेको भन्दै नेतृत्वलाई प्रश्नहरु तेर्साएका छन्।
अध्यक्ष ओली र दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल गर्दै सुझाव पेश गर्ने जिम्मेवारी दिएको भएपनि केन्द्रीय सदस्यहरुले विद्यमान खराब अवस्थाको चित्रण खुलेर गरेका छन्।
यसपटक खासगरी बैठकमा भीम रवाल, युवराज ज्ञवाली, जग्गनाथ खतिवडा, लेखनाथ न्यौपाने, सुरेशकुमार राई, राजेन्द्र राई, अष्टलक्ष्मी शाक्य, झपट रावल, ठाकुर गैरे, जयन्ती राई, गंगा तुलाधर, रचना खड्का, पूर्णकुमारी सुवेदी, शिवमाया तुम्बाहा¬ङफे, ओनसरी घर्तिमगर, निरज आचार्य, मात्रिका यादव लगायत केन्द्रीय सदस्यहरु पार्टी र सरकार नेतृत्वप्रति सार्वजनिकरुपमै आलोचनामा उत्रिएका छन्।
तर यसअघि पार्टी र सरकारका नेतृत्वको आलोचना गर्दै आएका बेदुराम भुसाल, घनश्याम भुषाल, योगेश भट्टराई लगायत सदस्यहरु मौन रहेन प्रयास गरेका छन्। भुसाललाई बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य बनाइएको छ भने घनश्याम भुसाल र योगेश भट्टराई मन्त्री बनिसकेका छन्। देश शञ्चारबाट