लहान ५ माघ । आज माघ पाँच अर्थात बलिदानी दिवस । आजकै दिन लहानमा रमेश महतोको सहादत भएको थियो । त्यसपछि सयौँ मधेसी सपुतहरुले आफ्नो प्राण आहुती दिएका थिए । आजको दिनलाई मधेस केन्द्रित दलले बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ ।
मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ । तर मधेसी जनताको सपना अझै पनि पूरा भएका छैनन् न त सहिदको सपना नै पूरा भएको छ ।
यो वर्ष उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा बलिदान दिवस वीरगञ्जमा मनाउने निर्णय गरेको छ । सुरुमा जसरी तामझामका साथ बलिदानी दिवस मनाइन्थ्यो आजको अवस्था त्यस्तो छैन । बलिदान दिवस जति पश्चिमतिर पुग्यो उति नै सुक्दै गएको स्थिति छ । मधेस आन्दोलनको केन्द्रविन्दु लहानको अवस्था झनै कमजोर हुन पुगेको छ ।बलिदान दिवस पनि आवश्यकताको आधारमा मनाउने अवस्थामा पुगेको छ । जसको बलमा मधेस केन्द्रित दल सता र सरकारको दैलोसम्म पुगे आज उनै सहिदको अवस्था कमजोर छ । सम्मानमा कमी छ । सहिदको गरिमा घटेर गएको छ । अपमानको महसुस हुन थालेको छ ।
आन्दोलनका क्रममा मुनाफाको जीवन बाँचेका जिउँदा सहिद र घाइते अपाङ्गको अवस्था हेर्दा झनै कहाली लाग्दो छ । थुप्रै सहिद परिवारले रोजगार त पाए तर सम्मान पाउन सकेका छैनन् । कतिपय सहिद परिवार र घाइते अपाङ्गले कुनै सुविधा पाउन सकेको छैनन् । दलीय र गुटबन्दीको विभेदमा परेका छन् । उनीहरुको जीवन अझै रोडमै छ । यस्तो अवस्थामा पुगेको छ मधेस आन्दोलनको जीवन ।