डडेल्धुरा १८ पुस । बिहीबार रातीदेखि हिमपात हुँदा भीमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु अलपत्र परेका छन् ।
वुधबारदेखि मौसममा आएको परिवर्तनसँगै बिहीबार रातीदेखि डडेल्धुरा जिल्ला सदरमुकाम लगायत सुदुरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको थियो ।
डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा भएको हिमपातले बिहीबार राती करिब १० बजेदेखि सवारी साधनहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
राती १० बजेदेखि हिमपातले बस चल्न नसकेपछि रातभरी बसभित्रै बसेको दार्चुलादेखि महेन्द्रनगर जान लागेको यात्रु खडक सिंह भाटले बताए । उनले भने रातीको समय अनारखोली बजारको जंगलमा बस रोकिएकाले राति भोकै बसभित्र बसेका थियौ ।
बैतडीको अनराखोली, खोडपे क्षेत्रमा दुई फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाईएको भएपनि भीमदत्त राजमार्गमा पनि ४ बटा डोजर हिउ सफा गर्नका लागि प्रयोग गरिएको र बाटो खुलाउन अझै समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
उनले भने अमरगढी नरपालिका,अन्य स्थानीय निकाय र सुरक्षाकर्मीहरुको पहलमा चाडो भन्दा चाडो बाटो सफा गरि यातायातका साधनहरु संचालन गर्छौ ।
दशरथ चन्द राजमार्ग अन्र्तगत अनारखोली क्षेत्रमा बाटो सुचारु गर्नका लागी अमरगढी नगरपालिकाले आफ्नै डोजर परिचालन गरेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
हिमपाले डडेल्धुरामा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा समेत अवरुद्ध हुनुका साथै जिल्ला सदरमुकामका विद्यालयहरु संचालन भईरहेको अर्धवार्षिक परिक्षा समेत प्रभावित भएको थियो ।
बाक्लो हिउँपरेपछि यहाँका स्थानीयहरु हिउँसँग रमाइरहेका छन् । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।