शम्भु चौधरी लहान, २३ मंसिर । ईलाका प्रहरी कार्यालय लहान सिरहाका डिएसपी भेषराज रिजालको सरुवाको भएका छन । सरुवा भएको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् ।
डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउ लगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । हालै हुन्डी कारोबारी पनि पक्राउ परेका छन् । उता, भारतबाट भन्सार छली गरी नेपाल भित्राउने मालसमान रोकिएपछि तस्करहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ ।
सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टी लगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउँन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरुको कुरामा सहमत नभई झन कडा गरेका थिए ।
सिमाक्षेत्रको कारोबार तथा अवैद्य मालसमान आयात निर्यात गर्न जिल्लाको विभिन्न होटल,हरुमा पटक पटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा विभिन्न राजनितिक दलका व्यापारीले एउटै आवाज उठाएका थिए । सिमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए ।
छलफलपछि एक टोली सत्तापक्षका नेताहरुलाई रिझाएर संघीय सरकारलाई यिनीहरुलाई सरुवा गर्न गराउँन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चलेपनि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ ।
उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘सरुवावारे मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ’ वहाँले बताए ।