सिरहा १५ मंसिर । प्रदेश नम्बर २ अन्तर्गत उपनिर्वाचन भएका ९ वटै वडाको नतिजा आइसक्दा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी हावी देखिएको छ ।समाजवादी पार्टीले ९ मध्ये ४ वटा वडा जित्दा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले २/२ वडामा जीत हात पारेका छन् ।
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भागमा एउटा वडा पर्दा हालै खुला राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टीले भने कुनैपनि वडामा प्रतिस्पर्धात्मक मत पाउन सकेन ।
तराईमा राम्रै प्रभाव विस्तार गरिसकेको भनिएका सीके राउतको पार्टीले बलवा– २ महोत्तरीमा २२३ मत ल्याएर तेस्रो हुनु नै सबैभन्दा राम्रो नतिजा रह्यो ।
सत्तारुढ दल नेकपा पनि कल्याणपुर नगरपालिका– १२ सिरहामा मात्र जीत हात पार्न सफल भएको छ ।अघिल्लोपटक एक्लाएक्लै लडेका दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पनि प्रदेश २ मा त्यसको सुखद् परिणाम देखिएन ।
प्रदेश २ मा गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भएको पिपरामा भने मतगणना जारी छ । उक्त गाउँपालिकामा राजपा र नेकपाबीच प्रतिस्पर्धा देखिएको छ । लोकान्तरबाट