काठमाडौं ११ मंसिर । कृषि तथा अन्य विभिन्न उद्यममा सरकारले दिने नगद अनुदानसम्बन्धी नीति परिवर्तनको तयारी गरेको छ । बुधबार राजधानीमा आयोजित सहूलियतपूर्ण कर्जाको ब्याजमा दिने अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
सोझै नगद अनुदान दिँदा एकातर्फ लक्षित वर्गसम्म नपुगेको र अर्कोतर्फ सही सुदपयोग हुन नसकेको भन्दै नीति परिवर्तन गर्न लागिएको अर्थभन्त्री डा. खतिवडाले बताए ।‘सोझै अनुदान दिने कुराले, न कृषिमा, न उद्योगमा न व्यवसाय, कुनैमा पनि काम गरेन,’ उनले भने, ‘अब उत्पादनका साधनमा अनुदान दिने हो ।’ उनका अनुसार पुँजी, सामग्री, उद्योगशिलता, तालीम, मेसिनरी–औजार–उपकरणजस्ता साधनमा अनुदान दिने गरी नीति परिवर्तन गर्न लागिएको छ ।
सोझै नगद दिँदा सम्बन्धित लाभग्राहीले पनि सित्तैमा पाएको अनुभव गर्ने र महत्व नबुझ्ने अर्थमन्त्रीले बताए । कुनै बैंकबाट उद्यम गर्न ऋण लिँदा पछि तिर्नु पर्दैन भन्ने मानसिकता नराख्न उनले सचेत गराए ।‘बैंकबाट तपाईले लिएको कर्जा अरु कसैले मिहिनेतपूर्वक कमाएर निक्षेपका रुपमा बैंकमा राखेको पैसा हो,’ उनले भने, ‘त्यो पैसा हिमामिना गर्नु भनेको अर्को उद्यमीको क्रियाशिलताप्रति कुठराघात गरे बराबर हो ।’
अहिले सरकारले विभिन्न ९ क्षेत्रमा सहुलियतपूर्ण ऋण दिने गरेको छ । राष्ट्रिय युवा परिषद्, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडबीच सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । अनलाइन खबरबाट