जनकपुर ५ मंसिर । उपप्रधानमन्त्री उपेन्द्र यादव छिमेकी मुलुक भारतको भ्रमणमा रहेकै समय भएको संघीय सरकार पुनर्गठनले प्रदेश नम्बर २ मा नयाँ तरङ्ग ल्याएको छ । खासगरी प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी र सो प्रदेशमा सत्ता साझेदार रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको सम्बन्ध, संघीय सरकारमा भएको फेरबदलले प्रदेश २ मा पर्ने प्रभाव लगायतका विषयमा टिकाटिप्पणी हुन थालेको हो ।
कतिपयले समाजवादी पार्टीभित्र सरकार छाड्नका लागि भइरहेको अन्तरसंघर्षलाई समेत जोडेर हेर्न थालेका छन् ।कतिपय राजनीतिक विश्लेषकहरुले उपेन्द्र यादव तत्काल संघीय सरकारबाट बाहिरिने अवस्था नरहेको दावी गरेका छन् ।तेश्रो मधेश आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको मधेश अधिकार संघर्ष समितिका संयोजक समितिका अगुवा सरोज मिश्रले मधेश अधिकारको एजेण्डा र मधेशवादको सिद्धान्तलाई बाइपास गरेकाले यादवको हालत खराब अवस्थामा पुगेको टिप्पणी गरे ।
उनले यादवको सोच र सिद्धान्तकै कारणले गर्दा पहाडिया अहंकारले नेतृत्व गरेको वर्तमान संघीय सरकारले उनीसँग यस्तो व्यवहार गरेको भन्दै यसले प्रदेश नम्बर २ मा तत्काल कुनै किसिमको प्रभाव नपर्ने टिप्पणी गरे ।त्यस्तै, वाम राजनीतिक विश्लेषक रोशन जनकपुरीले समाजवादी पार्टी केन्द्र सरकारबाट बहिर्गमन नभएसम्म टिप्पणी गर्नु अनुचित हुने धारणा व्यक्त गरे । उनले समाजवादी पार्टीभित्र पनि सुरुदेखि नै सरकार परित्याग गर्न दबाब परे पनि अवसरवादी चरित्रलाई छाड्न नसकेको बताए ।
उनले संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिए पनि प्रतिपक्षी भुमिकामा रहेको राजपा नेपाल उसको ठाउँमा सरकारमा सहभागी हुने सम्भावना प्रबल रहेको बताए । उनले भने, ‘सरकारबाट उपेन्द्रजी बाहिर आउनु भयो भने राजपा नेपाल सरकारमा सामेल हुने सम्भावना प्रबल छ, सडक आन्दोलनको अवस्था निकै शिथिल रहेकाले प्रदेश नम्बर २ मा उपेन्द्रजीको आलोचना व्यापकरुपमा हुनसक्छ ।’ समाजवादी पार्टी र राजपा नेपालभित्रको सम्बन्ध सुमधुर नरहेसम्म यी दुवै पार्टीले भनेजस्तो एकीकरण पनि तत्काल सम्भव नरहेको उनले बताए । रातोपाटिबाट