काठमाडौँ ८ कार्तिक। असोज ३० गते ललितपुर गोदावरी नगरपालिका– १४ ठैबका सुमन नेपाली र १५ वर्षीया रमा (नाम परिवर्तन) को लखनखेलस्थित सार्वजनिक शौचालय नजिक अचानक भेट हुन्छ ।
उनीहरुबीच पहिले चिनजान थिएन । तर, पहिलो भेटमै सुमनले रमालाई विभिन्न प्रलोभन देखाउन थाल्छन् । क्याफेमा राम्रो काम लगाइदिने, खान र बस्न फ्रि हुने, राम्रो पैसा कमाइ हुने प्रस्ताव सुनेर रमा पनि दङ्ग पर्छिन् ।
त्यसपछि दुवै जना लगनखेलबाट गाडी चढेर सिधै गोदावरी नगरपालिका–१४ ठैबमा विशाल तामाङले सञ्चालन गरेको वेलकम क्याफेमा पुग्छन् ।
विशाललाई पनि रमा भेटाउँछन् सुमनले । विशालले रमालाई वेटरको काम गर्न भन्छन् । रमा तयार हुन्छिन् ।
तर, सुमनको नियत भने अर्कै हुन्छन् । क्याफेमा लगेपछि रमालाई सुमनले यौनधन्दा गरे थप रकम कमाउन सकिने भन्दै आर्थिक प्रलोभनमा पार्छन् । दिउँसो ग्राहकलाई सन्तुष्ट पार्न सके तीन हजार र रातभरी बसे ६ हजार रुपैयाँसम्म कमाउन सकिने कुरा रमालाई सुनाउँछन् । रमालाई पनि पैसाको आवश्यकता हुन्छ, उनले अफर स्वीकार गर्छिन् । तर, त्यसपछि रमालाई क्याफे कै एउटा कोठामा बन्धक बनाइन्छ र यौनकर्मी जसरी काम गर्न लगाइन्छ ।
यता, एक किशोरीलाई अवैध तरिकाले यौन व्यवसाय गर्न लगाएको भनी प्रहरीकोमा कात्तिक २ गते सूचना आइपुग्छ । कोठामा बन्धक बनाएर यौन व्यवापारमा लगाउने गरेको गोप्य सूचना आएपछि प्रहरीले रमाको खोजीकार्य सुरु गर्छ ।
रमालाई विभिन्न प्रलोभन देखाएर क्याफेमा लगि यौन व्यवसायमा लगाएको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएस्पी गौतम मिश्रले बताए ।
अन्ततः प्रहरीले ठैबस्थित वेलकम क्याफेको कोठामा बन्धक बनाएर राखेको अवस्थामा रमाको कात्तिक ४ गते उद्दार गर्न सफल हुन्छ ।
रमाले घटनाबारे बताएपछि क्याफेमा रहेका विशाल त्यतिबेलै पक्राउ परेका थिए । सुमनलाई भने त्यही साँझ ठैबस्थित सडकमा हिँडिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । रातो पाटीबाट ।