प्रदिप सिंह असोज १७ । जिल्ला प्रहरी कार्यालय सिरहाले बन्दिपुर चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विजया दशमी, दीपावली र छठ पर्वका अवसरमा बढ्दो सवारी चापसँगै यात्रुहरूलाई पर्न सक्ने कठिनाइको सहजीकरणको लागि ट्राफिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले बताएका छन।
चाडपर्वको समयमा ज्येष्ठ नागरिक बालबालिका कमजोर असहाय अशक्त लगायतलाई सहज होस भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए । चाडपर्वको समयमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि सवारी चालक यात्रु दुवै संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन ।
यसैबिच यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा असुली गर्न थालेपछि सिरहा जिल्लाका सडकमा चेक जाँचमा कडाइ गरिएको छ। राती ८ बजे देखि १० बजेसम्म जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्वेदी र राष्ट्रिय अनुसन्धान विभाग सिरहाका प्रमुख रमेश चन्द्र यादवले सहायता कक्षमा गएर सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो दुई वटा चालक छ कि छैन भन्दै सोधपुछ थालेको छ।
एसपी चतुर्वेदीका अनुसार यात्रुहरूसँग पिर मर्का बारे सोधपुछ पनि थालेका छन् । उनले सवारी हाँक्दा ट्राफिक नियमको पुर्णपालना गर्न गराउन समेत आग्रह गरे । सवारी चलाउँदा सवारी साधनको अवस्था समय समयमा चेकजाच गर्नुपर्ने यात्रुहरूको सङ्ख्या नाम र ठेगानाको अभिलेख राख्नुपर्ने, चालकले सवारीको गन्तव्य लाग्ने समय रोकिने स्थान लगायतका विषयमा जानकारी दिनुपर्ने लगायतका ध्यान दिनुपर्ने चतुर्वेदीले बताए ।