चितवन: चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने र युवराज कँडेल धरौटीमा रिहा गर्न आदेश दिएको छन् । नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले रिहा गरेको छ।
न्युज २४ का सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् भने युवराज कँडेललाई ३ लाख धरौटी तोकिएको छ।
पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए। सामान्यतया सरकारवादी मुद्धामा पिडितका तर्फबाट सरकारी वकिलले मात्र बहस गर्ने चलन छ।
चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो। सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदावी गरेका छन्।
पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए। स्टिम न्युजबाट