काठमाडौं ३ भदौ,। बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् ।
गत वर्ष २८ वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा अधिकांशले बेस रेट घटाएको पाइएको छ, जुन ऋणीहरुका लागि राहतको विषय हो ।
बैंकहरुले आफूखुशी ब्याजदर बढाएर ऋणीहरूलाई मारमा पार्ने गरेको विषयमा बारम्बार गुनासो आउने गर्छ । खासगरी ऋण लिएर व्यवसाय गर्ने उद्योगी–व्यवसायी ब्याजदरबाट अत्यधिक पीडित छन् ।
६ प्रतिशतमा लिएको ऋणको ब्याजदर एक वर्षभित्रै १२ प्रतिशत पुग्दा उनीहरू मर्माहत हुनु स्वभाविकै हो । गत आवमा भने बैंकहरुले बेस रेट घटाएर व्याजदरमा संयम अपनाएको देखिन्छ ।
गत आर्थिक वर्ष ०७५/७६ मा बैंकहरुको बेस रेट औसत ९.५५ प्रतिशतमा झरेको छ ।
यो अघिल्लो आव ०७४/७५ को तुलनामा करिब १ प्रतिशतले न्यून हो । अघिल्लो आवमा औसत बेस रेट १०.४२ प्रतिशत रहेको थियो ।