राजविराज, १३ साउन । आर्थिक अनियमितताको आरोपमा यतिबेला चर्चामा रहेको सप्तरीको बलान विहुल गाउँपालिकाको विभिन्न योजनाहरुको विषयमा पत्रकारहरुको एक टोलीले सोमवार स्थलगत निरीक्षणसहित विविध पक्षहरुबारे जानकारी लिएका छन् ।
राष्ट्रिय तथा स्थानीय मिडियाहरुमा कार्यरत पत्रकारहरुको टोलीले सम्वन्धित योजनास्थलमै पुगेर वास्तविकताबारे जानकारी लिएका हुन् । ‘न्यूज टुडे’ दैनिक सहित स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा समाचार सार्वजनिक भएपछि गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले समाचारहरुमाथि नै प्रश्नचिन्ह उठाएका थिए । तत्पश्चात नेपाल पत्रकार महासंघको विभिन्न जिम्मेवारीमा रहेका पत्रकार तथा मिडियाकर्मीहरुको टोलीले स्थलगत रुपमै निरीक्षण गर्दै स्थानीयवासिन्दासँग समेत विकास निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
स्थलगत निरीक्षण एवम् समाचार सङ्कलन टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका कान्तिपुर दैनिकका उप–सम्पादक अवधेश कुमार झा, कान्तिपुर टेलिभिजनका उप–सम्पादक एवम् नेपाल पत्रकार महासंघका प्रदेश नम्वर २ का सचिव रामनारायण विश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका न्यूज टुडे दैनिकका सम्पादक एवम् नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता श्यामसुन्दर यादव, एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता वैद्यनाथ यादव, कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष शिवनारायण साह ‘सुरज’, जनता टेलिभिजनका सप्तरी सम्वाददाता विद्यानन्द राम, राजविराज टुडे दैनिकका प्रमुख सम्वाददाता धर्मपाल राउत समेतका पत्रकारहरु सम्मिलित थिए ।
टोलीले बलान बिहुल गाउँपालिकाको मुख्य सडक, ढलान भएको स्थल, राष्ट्रिय प्राथमिक विद्यालय टिकुलिया, चिकनी डबरी पोखरी सडक, ट्युवेल जडान, वडा नम्वर १ स्थित सडकमा माटो ग्राभेल लगायतको योजनाहरुको स्थलगत निरीक्षण गरेका छन् । उक्त टोलीलाई स्थानीवासिन्दाहरुले विभिन्न बेथितिहरुबारे जानकारी गराएका छन् ।
योजनाहरुको निरीक्षण पश्चात बलान बिहुल गाउँपालिका कार्यालय पुगेर महालेक्षा परीक्षकको विस्तृत प्रतिवेदन, ०७४÷०७५ मा सम्पन्न योजनाहरु, चालु आर्थिक वर्षको योजनाहरुको विस्तृत विवरणका साथै कार्यप्रगति विवरण सहितका विषयहरुबारे सूचना माग गर्दै निवेदन समेत दर्ता गराएका छन् ।