-एजेन्सी, १३ साउन । अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ । मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन् ।
फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक समातेको देखेको बताए । अर्का प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले फेस्टिभल भइरहेको स्थानबाहिर लगाएको बार काटेर भित्र आएका थिए।
मेटल डिटेक्टर र सुरक्षाकर्मीलाई छल्ने उनले त्यसो गरेका थिए । प्रहरीले बन्दुक आक्रमणमा दुई/तीन जनाको संलग्नता हुने सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । तीन दिनका लागि सुरू गरिएको फेस्टिभल बन्दुक आक्रमणपछि बन्द भएको छ।
अमेरिकामा आमनागरिकलाई पनि बन्दुक राख्न छुट छ । सबैले बन्दुक राख्न सक्ने भएकाले बेलाबेलामा हुने यस्ता आक्रमणमा परी निर्दोष मानिसहरूको ज्यान जाने गरेको छ । बन्दुक राख्न प्रतिबन्ध लगाउनु पर्ने माग उठे पनि अमेरिकाले बन्दुकमाथि प्रतिबन्ध लगाउने कानुन बनाउन सकेको छैन ।
यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ । बन्दुकको आवाज सुनेपछि त्यहाँ भागदौड मच्चिएको देखिन्छ ।
घटनापछि क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले घटनाको छानविन गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गर्दै सुरक्षा व्यवस्था कडा पार्न भनेका छन् ।