लहान असार १० सिरहाको सुखीपुर नगरपालिकाको नगरसभा विवादित बनेको छ । मेयर रामऔतार यादबले उपमेयर र वडाध्यक्षहरुसँग सल्लाह नै नगरी नगरसभा सोमबारबाट सुरु गरेको हो ।
उपमेयर साहले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दा पनि मेयर यादबले नमानेको गुनासो गरिन् ।
उनले मेयर यादब विभिन्न योजनामा व्यापक आर्थिक अनियमितता गरेको आरोप समेत लगाइन् । उनले भनिन्, ‘भ्रष्टाचारको पोल खुल्ने डरले मेयर हरहिसाब सार्वजनिक गर्न मानेका छैन ।’
मेयर यादबले तानाशाही प्रबृति देखाई अगामी आर्थिक वर्ष २०७६/०७७ को नगरसभा गर्न लागेको भन्दै उपमेयर रेणुदेवी साह र ५ वटा वडाध्यक्षले विरोध जनाएका छन् ।
उनीहरु संयुक्त रुपमा विज्ञप्ती नै जारी गरी नगरसभा स्थगित गर्न माग गरेका छन् । नगरसभा स्थगित नगरे आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका हुन् ।
सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ । जसमध्ये नगरसभाको ५ वडाध्यक्षहरु क्रमश: हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजय कर्ण दास र रामलखन महतोका साथै उपमेयर साहले नगरसभाको विरोधमा उत्रिएका छन् ।