राम्जी मायालु क्षेत्री, पर्वत २९ जेष्ठ । पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ ।
आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो ।  आगालागी भएसँगै विहानदेखि रेडियोको प्रशारण समेत बन्द भएको छ ।
कुनैपनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको बिकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार आगालागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे नियन्त्रणमा लिईएको थियो । विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण पुर्ण रुपमा क्षति पुगेको हो ।
आगालागीबाट रेडियो संचालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । झण्डै रु.तीस लाख रुपैया भन्दा बढिको क्षति भएपनि यकिन विवरण भने आईनसकेको शर्माले जानकारी दिनुभयो ।
तत्काल थाहा पाएका कारण कुनै मानविय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।  २०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको थियो ।